काठमाडौँ, २३ असार । जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा ३४ लाख एसएमएस सर्वसाधरणलाई सम्प्रेषण गरेको छ ।

विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आज १२ बजेसम्म मुलुकको विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन ३४ लाख बढीलाई एसएमएस सम्प्रेषण गरेको हो ।

विभागका प्रवक्ता सुनिल पोखरेलले बाढीबाट हुन सक्ने धनजनको क्षति न्यूनिकरण गर्ने लक्ष्यले जनचेतनाका लागि एकै दिनमा ३४ लाखको हाराहारीमा सर्वसाधरणलाई एसएमएस पठाएको जानकारी दिनुभयो ।

विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले यस वर्ष विभागले मनसुनजन्य घटना तथा जानकारीसम्बन्धी करिब ९० लाख एसएमएस सर्वसाधरणलाई पठाउने योजना बनाएको जानकारी दिनुभयो ।

“बाढी र वर्षासम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५ र उद्धार तथा मद्दत माग्न ११४९ को व्यवस्था गरिएको महानिर्देशक कर्माचार्यले जानकारी दिनुभयो ।

बर्सेनि ९० लाख हाराहारीमा एसएमएस सम्प्रेषण गरेर मनसुनजन्य विपत्तीबाट हुने क्षति न्यूनिकरण गर्ने प्रयास गरेका भन्दै यस वर्ष पनि सोही मात्रामा सम्प्रेषण गरिने उहाँले बताउनुभयो ।

विभागका महानिर्देशक कर्माचार्यका अनुसार विभागसँगको समन्वयमा नेपाल टेलिकम र एनसेलले बाढीको पूर्वसूचना उपलब्ध गराउन निःशुल्क एसएमएस प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0