काठमाडौँ, ७ असार । राष्ट्रियसभा सदस्यहरुले सिंहदरबारभित्र बन्दै गरेको सङ्घीय संसद्को नयाँ भवन समयमा निर्माण सम्पन्न गर्न सुझाव दिनुभएको छ ।

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बिहीबार बसेको बैठकमा उहाँहरुले नयाँ संसद् भवन समयमा सम्पन्न गर्न सहरी विकास मन्त्रालयलाई आग्रह गर्नुभएको हो ।

भवन निर्माणको गति सुस्त भएको टिप्पणी गर्दै उहाँहरुले द्रूत गतिमा निर्माण गर्न निर्देशन दिनुभएको छ । समितिका सदस्य समित्रा बिसीले झन्झटिलो निर्माण प्रक्रियाका कारण संसद्को नयाँ भवन निर्माण प्रक्रियाले गति लिन नसकेको बताउनुभयो ।

अर्की सदस्य गोमादेवी तिमल्सेनाले समयमा नयाँ भवन निर्माण हुन नसक्दा भाडाको घरमा संसद चलाउनु परेको बताउनुभयो ।

समितिकी सदस्य रुक्मिणी कोईरालाले पनि विगतमा भएका गल्ती कमजोरीलाई सच्चाएर अब जतिसक्दो छिटो नयाँ भवनको काम सक्न आग्रह गर्नुभएको छ ।

समितिका सदस्य गोपाल भट्टराईले नयाँ भवन निर्माणको प्रगति नभएकाले समयमा निर्माण सम्पन्न गर्ने विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)का संसदीय समितिहरु, संसदीय दलका कार्यालय रहने गरी भवन निर्माण भइरहेको छ । समितिले दिएको सुझावमा सहरी विकास मन्त्रालयले जतिसक्दो छिटो निर्माण सम्पन्न गर्ने जवाफ दिएको छ ।

सिंहदरबारको उत्तरपूर्वी भेगमा करिब एक सय ५१ रोपनी क्षेत्रफलमा नयाँ संसद् भवन निर्माण भइरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यहाँ सङ्घीय संसद् भवन, राष्ट्रियसभा भवन, भीभीआईपी भवन र सेन्टर लभीलगायत १२ वटा भवन हुनेछन् ।

बफरजोन, उत्तरतिर फराकिलो सडकसहित दायाँबायाँ रुखहरु रोपिने र भवन परिसर प्रवेश गर्न चार वटा प्रवेशद्वार हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0