नेपालबाट चोरी भएर अमेरिका पु¥याइएका ऐतिहासिक तथा पुरातात्विक महत्वका दुई थान टुँडाल नेपाल फर्काई पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ ।

पुरातत्व विभागमा आयोजित कार्यक्रममा काठमाडौँस्थित अमेरिकी दूतावासकी डेपुटी चिफ अफ मिसन अविगल अरोनसनले १३५ सेमी लम्बाइ तथा २१ सेमी चौडाइ र ११०.२ किलोग्राम तौलका दुई टुँडाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई हस्तान्तरण गर्नुभयो । काठमाडौँ महानगरपालिका–१२ ह्युमत टोलमा रहेको दुईछाने नारायण मन्दिरको पहिलो छानो अड्याउन १३औँ र १४औँ शताब्दीमा बनेका दुई टुँडाल १९८० को दशकमा चोरी भएको थियो ।

उक्त टुँडालहरु एक अमेरिकी नागरिकले जम्मा गरी सन् २००३ मा आर्ट इन्ष्टिच्युट अफ सिकागोमा प्रदर्शनीमा राखेका थिए । उनले पुरातात्विक महत्वका उक्त टुँडाल नेपाल फर्काउन चाहेपछि नेपाली महावाणिज्यदूतावाससँग समन्वय गरी बीमा र ढुवानी खर्चसमेत बेहोरी युएस आर्ट कम्पनीको सहकार्यमा नेपाल फर्काएका हुन् । हालसम्म बेलायतबाट १९ थान, अष्ट्रेलियाबाट एक थान, अमेरिकाबाट २३ थान, तिब्बतबाट २८ थान, कलकत्ताबाट १३ र जर्मनीबाट एक थान मूर्ति तथा कलावस्तुहरु नेपाल फर्काइएको पुरातत्व विभागले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0