हुम्ला, २६ जेठ । हुम्ला जिल्लाकाे सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग अहिलेसम्म पनि जोडिन सकेको छैन । कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकास्थित दोजाम कर्णाली नदीमाथि पुल नहुँदा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको हो ।

जिल्लालाई पूर्णरुपमा राष्ट्रिय सडक सञ्जालसँग जोड्न दोजाम कर्णालीमाथि पक्की पुल निर्माण गर्न आवश्यक देखिन्छ । सरकारले चालु आर्थिक वर्षभित्र सिमकोटलाई सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित बजेट विनियोजन गरेको थियो ।

पुल निर्माणले गति लिन नसक्दा चालु आवमा पनि हुम्लामा सडक सञ्जाल विस्तार नहुने पक्का भएको हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो । चालु आव सकिना एक महिना केही दिन मात्र बाँकी रहेको अवस्थामा पुल निर्माण सम्पन्न नहुने उहाँले बताउनुभयो ।

खार्पुनाथ गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएको भए पनि गाउँपालिकाको खार्पुमा पर्ने दोजाम कर्णाली नदीमा पुल निर्माण नहुँदा आवागमनमा सास्ती हुनुका साथै जिल्ला राष्ट्रिय सडक सञ्जालबाट अलग हुँदै आएको उहाँले बताउनुभयो ।

पुल निर्माण गर्ने निर्णय गरी काम अगाडि बढाएको अवस्थामा कम्तीमा चार वर्ष समयावधि लाग्ने उहाँले जानकारी दिनुभयो ।

दोजाम कर्णालीमा पक्की पुल निर्माण ढिलाइ भएको भन्दै तत्कालका लागि सोही स्थानमा अस्थायी बेलिब्रिज बनाउनुपर्ने स्थानीयले माग गर्दै आएका छन् । अस्थायी बेलिब्रिज निर्माण गरी तत्काललाई आवागमन सहज बनाउनुपर्ने माग स्थानीयको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागबाट बेलिब्रिज निर्माण गर्ने मौखिक सहमति आए पनि बजेटको व्यवस्था नहुँदा काम अगाडि बढ्न नसकेको योजना प्रमुख नेपालीले बताउनुभयो ।

पक्की वा अस्थायी पुल निर्माण नहुँदा चार वर्षसम्म सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने सम्भावना नरहेको उहाँले जानकारी दिनुभयो ।

जिल्लाका जनप्रतिनिधि, नागरिक समाज र विभिन्न राजनीति दलका प्रतिनिधि पुल निर्माणका लागि ‘डेलिगेसन’ लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागसम्म पुगे पनि हालसम्म माग पूरा हुन नसकेको नेपालीले बताउनुभयो ।

तत्काल सडक सञ्जालसँग जोड्न दोजाम कर्णालीमा अस्थायी बेलिब्रिज निर्माण गर्नुपर्नेमा त्यो पनि सम्भावना नदेखिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0