सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-०८२ को लागि आफ्नो नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ ।

कृषिलाई प्राथमिकता दिएर आगामी बर्षको नीति तथा कार्यक्रम सार्बजनिक गरिएको हो ।
प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक पालिका एक कृषक पाठशाला संचालन गरिने बताउनुभएको छ ।

स्थानीयस्तरमा गुणस्तरीय प्राङ्गारिक मल उत्पादन प्रविधि प्रसारका लागि एक पालिका एक कृषक पाठशाला सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ ।

कृषकको पहुँच अभिवृद्धि गर्न प्राङ्गारिक मल तथा जैविक विषादी उत्पादन, ढुवानी र बिक्री मूल्यमा अनुदान दिइने प्रस्तुत नीति कार्यक्रममा छ ।

स्वस्थ माटो, स्वस्थ जीवन नाराका साथ माटो परीक्षण नतिजाको आधारमा कृषि चून प्रयोगलाई व्यापकता दिइने प्रस्तुत नीति कार्यक्रममा उल्लेख छ ।

कृषकको पहुँच अभिवृद्धि गर्न प्राङ्गारिक मल तथा जैविक विषादी उत्पादन, ढुवानी तथा बिक्री मूल्यमा अनुदान दिइने प्रदेश प्रमुख परियारले बताउनुभयो ।

कृषकलाई कार्यस्थलमा प्राविधिक सहयोग उपलब्ध गराउन घुम्ती कृषि प्राविधिक सहयोग कार्यक्रम सञ्चालन गर्ने, सुर्खेत प्रवेश गर्ने प्रमुख नाका बबइमा कृषि क्वारेन्टाइन राखिने नीति कार्यक्रममा उल्लेख छन् ।

यस्तै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख परियारले अर्गानिक कृषिमा वृद्धि, कर्णालीको समृद्धि भन्ने नारा सहित सुरुवात गरिएको कर्णाली प्रदेशको अर्गानिक कृषि अभियानलाई सफल पार्न सरोकारवालाको समन्वय र सहकार्यमा कृषि पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

कृषि प्रसार सेवालाई प्रभावकारी बनाउन प्राङ्गारिक कृषि उत्पादन, प्रविधि प्रसार र पोषण सुधारको लागि स्थानीय तह मार्फत उत्पादन सामग्री सहयोग गरिने नीति कार्यक्रममा उल्लेख छ ।

युवाहरूको कृषि तथा पशुपालनमा आकर्षण बढाउन कृषि, पशुपन्छी र जडिबुटी बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने गरी सरकारले नीति लिएको छ ।

कृषि उपजलाइ बजारसँग जोड्न कृषि बजार सूचना सेवा सञ्चालन गरिने प्रस्तुत नीति कार्यक्रममा उल्लेख छ । सहकारी संस्थाहरुको साझेदारीमा कृषि उत्पादन, प्रशोधन र बजारीकरण गरिने भनिएको छ ।

प्रदेश प्रमुख परियारले स्याउ तथा ओखर विकास कार्यक्रमलाइ निरन्तरता दिदैँ गुणस्तरीय उत्पादन तथा बजारीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

दैलेख, सल्यान र जाजरकोट लगायतका जिल्लामा सुन्तला जातका फलफूल बगैँचा सुदृढीकरण कार्यक्रम अभियानको रुपमा सञ्चालन गरिने उहाको भनाई छ ।

भूमिहीन, सीमान्तकृत तथा विपन्न वर्ग र भूकम्प प्रभावित जिल्लाका पीडित कृषकलाई लक्षित गरी कर्णाली समृद्धि परियोजना अन्तर्गत खाद्य तथा पोषण सुरक्षा जिविकोपार्जन सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिने प्रदेश प्रमुख परियारले प्रस्तुत गर्नुभएको नीति कार्यक्रममा जनाइएको छ ।

सरकारले जिल्लागत रुपमा कृषि जैविक विविधता संरक्षण र प्रवर्द्धन गर्न सम्भाव्यताका आधारहरु समेत तय गरिने जनाएको छ ।

जस अन्तरगत डोल्पामा चौरी विकास, दैलेखमा बाख्रा विकास र सल्यानमा सुन्तलाजात फलफूल विकास फार्म तथा केन्द्रको स्थापना गरिने भनिएको छ ।

कृषिसँगै शिक्षा, स्वास्थ्य, पर्यटन पूर्वाधार विकासलाई समेत सरकारले प्रथामिकता दिएको छ ।
कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गरिने, प्रदेश आयुर्वेद औषधालयलाई वैकल्पिक औषधि उत्पादनको मुख्य केन्द्र बनाइने, सार्वजनिक शिक्षा सुधारका लागि ‘१० वर्षे शिक्षा नीति’ तयार गर्ने, कर्णालीलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिने लगायतका कार्यक्रमहरु अगाडी सारिएको छ ।

यस्तै सुर्खेत विमानस्थलको विस्तार, आन्तरिक हवाई उडानका लागि पहल गरिने छ भने सुरक्षाको लागि राजधानीमा सीसीटिभी क्यामेरा जडान गरिने सरकारले योजना ल्याएको छ ।
‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’ कार्यक्रमलाई प्रभावकारी बनाइने छ भने ‘जनतासँग मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0