सुरेन्द्र आचार्य
भदौ २४, सुर्खेत
प्रेस चौतारी नेपाल, जिल्ला समिति सुर्खेतले नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश र सुर्खेत समितिलाई ज्ञापन पत्र बुझाएको छ । प्रेस चौतारी नेपाल सुर्खेतका अध्यक्ष गोविन्द खत्रीले आइतबार पत्रकार महासङ्घका कर्णाली प्रदेश अध्यक्ष देवीराम देवकोटा र महासंघ सुर्खेतका अध्यक्ष ललित बसेललाई ज्ञापन पत्र बुझाएको जानकारी दिए ।
नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको सचिवालय बैठकले महासङ्घले तयार पारेको मापदण्डलाई लत्त्याउँदै प्रेस चौतारीमा आस्था राख्ने पत्रकारहरूलाई मात्रै लक्षित गरी केही सदस्यहरूको नवीकरण नगर्ने निर्णय गरेको भन्दै अध्यक्ष खत्री र केन्द्रीय सदस्य आकाश तारा वयकद्वारा जारी ज्ञापन पत्रमा आपत्ति जनाएको छ ।
प्रेस चौतारी सुर्खेतका अध्यक्ष खत्रीले भने, ‘नियमित रूपमा कलम चलाउँदै आएका पत्रकारहरूलाई प्रेस चौतारीमा आस्था राखेकै आधारमा पक्षपातपूर्ण तरिकाले गरिएको उक्त निर्णयप्रति हाम्रो कडा आपत्ति छ । सदस्यता शुद्धिकरण गर्ने कुरा स्वागतयोग्य हुँदाहुँदै सचिवालयमा हाम्रो सङ्गठनको प्रतिनिधित्व नभएको फाइदा उठाउँदै चौतारीमा आस्था राख्ने पत्रकारहरूलाई रोक्ने र अन्य सङ्गठनका सदस्यहरूलाई बचाउने गरी मापदण्ड लगाउने कुरा सुन्नमा आएको छ । यो खेदजनक छ ।’
अध्यक्ष खत्रीले पक्षपातपूर्ण तरिकाबाट गरिएको उक्त निर्णय तत्काल सच्चाउनुपर्ने बताए । साथै खत्रीले अन्यायपूर्ण निर्णय कायमै राखेको खण्डमा प्रेस चौतारी नेपाल
आन्दोलनमा उत्रिन बाध्य हुने र जिल्लाले गरेको सिफारिस विपरीत प्रदेशले गरेको निर्णयका साथै शाखाका सदस्यको पक्षमा लड्नका लागि एकबद्धता हुन आवश्यक रहेको बताए ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयले महासङ्घलाई विशुद्ध पत्रकारहरूको संस्था बनाउनका लागि शुद्धीकरणका लागि विभिन्न १५ वटा मापदण्ड तयार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0