भदाै ८, सुर्खेत । कर्णालीमा आँखा उपचार सेवा विस्तार हुने भएकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा उपचार सेवा विस्तार गर्नबारे सम्झौता भएको हाे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियाे । उक्त कार्यक्रममा मन्त्री मोहनबहादुर बस्नेतको समेत उपस्थिति रहेकाे थियाे ।
मन्त्री बस्नेतले उक्त सम्झौताले कर्णाली प्रदेशकै जनताको आँखा उपचार सेवामा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरे । उनले आँखा उपचारका लागि रणनीति बनाएरै सहकार्य र सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
उनले भने, “दुई प्रतिष्ठानबीचको सहकार्यले कर्णाली प्रदेशका गरिब, विपन्न, निमुखा र अप्ठ्यारामा परेका नागरिकले आँखाको सहज उपचार पाउनेमा हामी विश्वस्त छौँ । मन्त्रालयले गर्न सक्ने सबै सहयोग र सहजीकरण गर्न तयार छ ।”
तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक एवं निर्देशक डा सन्दुक रुइतले कर्णाली स्वास्थ्य प्रतिष्ठानअन्तर्गतलाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनले प्रतिष्ठानअन्र्तगत नेत्र रोग उपचार विभागलाई सशक्त बनाउँदै समग्र कर्णाली प्रदेशमा आँखा उपचार सेवालाई विस्तार गर्ने बताए ।

कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले तिलगङ्गा आँखा प्रतिष्ठानसँगको सम्झौताले आफूहरू उत्साहित भएको बताए । उनले सम्झौताअनुसार प्राप्त हुने आधुनिक स्वास्थ्य उपकरण उपलब्ध भए लगतै केही महिनामै सबै प्रकारका आँखासम्बन्धी उपचार सेवा सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । “आँखासम्बन्धी उपचारका लागि अत्यावश्यक आधुनिक उपकरण खरिदका लागि पर्याप्त बजेट नहुनु र अन्य सङ्घसंस्थासँग सहकार्य गर्ने अवसर मिलेको थिएन”, उनले भने, “तिलगङ्गासँगको सम्झौताले आँखा उपचारसँगै अध्ययन र अध्यापनका लागि अवसर सिर्जना गर्दै लग्ने अपेक्षा छ ।”
समझदारीपत्रमा कर्णाली प्रदेशका जनतालाई बृहत् आँखा उपचार सेवा उपलब्ध गराउन तिलगङ्गा आँखा प्रतिष्ठानले कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने सम्झौता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0