मकालु पाेष्ट
साउन २८, दैलेख । दैलेखमा जङ्गली जनावरले मकै बाली खाएपछि किसान मर्कामा परेका छन् । जनावरकाे सँख्या बढेसँगै किसानलाइ खेती जाेगाउन गाह्राे भएकाे हाे ।
भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्नु परेकाे बताउछन् । फल लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि आफुमात्र नभइ गाउँका किसान मकै बारीमै  दिनरात बिताउन बाध्य भएकाे जैसीले बताए ।
केही वर्ष देखि बँदेल र बाँदरले लगाएको बाली नष्ट गर्न थालेपछि उनिहरु मारमा पर्दै गएका छन् । जङ्गल क्षेत्रको विस्तारसँगै नजिक आउने जङ्गली जनावरले वर्षमा छ महिना खान पुग्ने मकैखेती सखाप पारेपछि किसान अन्न खोज्नुपर्ने चिन्तामा परेका छन् ।
“जङ्गली जनावर बँदेलले मकै सखाप पार्दै आएपछि जोगाउन बारीमै रातभर जागराम बस्नुपर्ने बाध्यतामा छौँ,  वर्षमा छ महिना खान पुग्ने खेती बाँदर/बँदेलले नष्ट गरेपछि अन्न बेसाउनुपर्ने भएको छ”, किसान जैसीले भने।
यस गाउँपालिकामा मात्र नभई बँदेल र बाँदरले जिल्लाका धेरै ठाउँमा मकैखेती नष्ट गर्दै आएका छन् । कृषि विकास कार्यालय दैलेखका अनुसार यहाँका ११ स्थानीय तहमा बँदेल र बाँदरले किसानको मकैखेती मात्र नभई अन्य खेतीमा समेत क्षति पुर्याउँदै आएको देखिन्छ । 
कार्यालय प्रमुख दशरथ पाण्डेले दैलेखका सबै स्थानीय तहका ९० वडामा २१ हजार एक सय ७५ हेक्टरमा किसानले मकैखेती लगाउँदै आएको जानकारी दिए । उनले पछिल्ला वर्षमा जङ्गली जनावरले किसानको बालीमा क्षति गर्ने गरेको बताए ।
उनले किसानको कति मकैखेतीमा जङ्गली जनावरले क्षति पुर्यायो भन्ने विवरण कृषि विकास कार्यालयसँग नरहेको जनाए । कार्यालयसँग क्षतिको विवरण छैन, स्थानीय सरकारले सङ्कलन गरेको भन्ने छ, हामीले क्षतिको विवरण हेरेर बीउसम्म उपलब्ध गराउन सक्छौँ, कृषिले राहतभन्दा पनि अनुदान दिने गरेकाे पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0