प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ
इटहरी स्थित जनता क्रिकेट पार्क मैदानमा भएको फाइनल खेलमा प्रदेश–१ लाई ६ विकेटले हराउदै सुदुरपश्चिम प्रदेशले पहिलोपटक उपाधी जितेको हो ।

प्रदेश–१ ले दिएको एक सय दुई रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.५ ओभरमा लक्ष्य भेट्टाएको हो । सुदूरपश्चिमको जितमा सम्झना खड्काले अविजित २७ रन बनाउनुभयो । डोली भट्टले २२, कविता जोशी १९ र कविता कुँवरले १२ रन बनाउनुभयो ।
प्रदेश–१ का सबनम राई, सङ्गीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले एक एक विकेट लिनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले पूरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो । प्रदेश–१ का लागि काजल श्रेष्ठले अविजित ४८ रन बनाउनुभयो । अप्सरी बेगमले १५ र कप्तान रुबिना क्षेत्रीले १४ रन जोड्नुभयो ।
सुदूरपश्चिमका मनिषा चौधरीले दुई तथा ऋतु कोनुजियाले एक विकेट लिनुभयो । उपाधिसँगै सुदूरपश्चिम प्रदेशले पाँच लाख रुपियाँ पुरस्कार पाएको छ । उपविजेता प्रदेश–१ ले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0