प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा सरकारको प्रभावकारिता, न्यूनतम साझा नीति कार्यक्रमलगायत विषयमा उहाँहरूबीच छलफल भएको थियो । गत बिहीबार बसेको सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न अध्यक्ष ओलीको संयोजकत्वमा कार्यदल बनाएको थियो । प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँ विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । नेपालको संविधानको धारा ७६ उपधारा (२) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0