पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बिहीबार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको थियो ।

बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन बिहीबार बिहान बैठक बसी शीर्ष नेतृत्वलाई बुझाउने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो । सिट बाँडफाँटका सम्बन्धमा कार्यदल सहमति नजिक पुगेको उहाँले बताउनुभयो ।

दलहरुलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको छ । कार्यदलको बैठक बिहीबार बिहान ९ बजे पुनः बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने सहमति भएको सचिव पुरीले जानकारी दिनुभयो ।

गठबन्धनमा आबद्ध दलहरुले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन हुनुहुन्छ ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु पुरी र आनन्द शर्मा कार्यदल सदस्य हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0