सुर्खेत । शेयर कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचक उच्च अङ्कले बढेकाे छ । लगातार ओरालो लागेको नेप्से उच्च अङ्कले बढ्दा लगानीकर्ताले शितलता महशुस गरेका छन । साथै चरम खडेरीमा पानी परेको जस्तै भएको उनीहरुको टिप्पणी छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९४.९२ अङ्कले उकालो लागेर एक हजार ९५६.९८ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १७.९३ मा पुगेको छ ।

जम्मा २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर रु दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४९ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

शेयर कारोबार हुने साताको पहिलो दिन आज आइतबार रु २७ खर्ब ९० अर्ब १६ करोड ५५ लाख ५४ हजार ८८८ बराबर रहेको छ ।

२१ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

नेप्सेका अनुसार आज कारोबार भएकामध्ये कूल २१ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, ३१ कम्पनीको शेयर मूल्य भने ९ प्रतिशत बढीले वृद्धि भएको छ । नेप्सेका अनुसार नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, गुह्यश्वरी मर्चेन्ट बैंक, प्रोगेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, एचआइडिसिएल, सिनर्जी पावर, घलेम्दी हाइड्रोपावरलगायतका कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र २.१६, एनसिसी बैंकको ऋणपत्र २, आइसिएफसी फाइनान्स २, गुडविल फाइनान्स १.८१ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले ०.२१ प्रतिशतले गुमाए ।