आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आजदेखि देशभर मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य पुनः सुरु गर्दैछ ।
पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्नेछन् । सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवं ७३ वटै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन गरिने आयोगले जनाएको छ ।
आजदेखि मतदाता नामावलीमा नाम, ठेगाना, जन्ममितिलगायत विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा त्रुटि सच्याउने तथा कुनै मतदाताले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाइने छ । विवाह वा बसाइँ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।
मतदाताले आफ्नो नाम रहेको मतदानस्थलबाट पायक पर्ने सोही वडाको अर्को मतदानस्थलमा नाम सार्न निवेदन दिएमा सोहीबमोजिम स्थानान्तरण गर्न सकिनेछ । मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि कुनै व्यक्तिले इमेल वा फ्याक्समार्फत निर्वाचन कार्यालयमा निवेदन दिएमा पनि नामावलीे अद्यावधिक गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0