कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मानव अधिकारको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज सुर्खेतमा आयोजित कर्णालीमा ‘मानव अधिकारको अवस्था’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले राज्यका निकायसँगै हरेक नागरिकले इमान्दारितापूर्वक कर्तव्य पालना गर्न सके मानव अधिकारको संरक्षण हुने बताउनुभयो ।
मुख्यमन्त्री शाहीले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् भएकोतर्फ सचेत बन्नुपर्ने धारणा पनि राख्नुभयो ।
संविधानमा सबैको हकअधिकारको सुनिश्चितता भएको भन्दै उहाँले त्यसको पालनाका लागि राज्य, निजी क्षेत्र, नागरिक समाज सबैले आआफ्नो क्षेत्रबाट सकारात्मक योगदान गर्नुपर्ने बताउनुभयो ।
कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता धु्रवकुमार श्रेष्ठले कर्णालीमा रोग, भोक, गरिबी नै मानव अधिकार संरक्षणमा चुनौती रहेको विचार व्यक्त गर्नुभयो । त्यस्तै सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले उद्योग, व्यवसाय क्षेत्रबाट आम उपभोक्ताको अधिकार संरक्षण एवं मानव अधिकारको प्रर्वद्धनमा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अतिविपन्न समुदायको मानव अधिकारका लागि सङ्घले सामाजिक उत्तरदायित्वका विभिन्न काम गर्दै आएको उहाँको भनाइ थियो । राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव हरि ज्ञवालीले कार्यक्रमको विषयवस्तुबारे जानकारी, आयोगका अनुसन्धानकर्ता प्रा डा गोविन्द सुवेदीले कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकको अधिकारका विषयमा प्रकाश पार्नुभएको थियो ।
आयोगले आजदेखि वीरेन्द्रनगरमा सम्पर्क कार्यालय पनि सञ्चालनमा ल्याएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0