सुर्खेत । जिल्ला समन्वय समिति दैलेखका प्रमुखमा स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी हुनुभएको छ । शाही सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै १३ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट प्रमुखको उम्मेदवार नेपाली कांग्रेसकी दुर्गाकुमारी श्रेष्ठले नौ मत प्राप्त गर्नुभयो ।

स्वतन्त्रबाट निर्वाचित शाही नेपाली कांग्रेस दैलेखका उपसभापति हुनुहुन्छ । उहाँलाई कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिसकेको छ ।

जिसस प्रमुखमा निर्वाचित शाहीलाई एमालेले सहयोग गरेको थियो । एघार वटा स्थानीय तह रहेको दैलेखमा प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्ष गरी २२ जना मतदाता थिए ।

जिल्ला समन्वय समिति निर्वाचनका लागि एमालेका १०, नेपाली कांग्रेसका नौ, माओवादी केन्द्रका दुई र समाजवादीका एक जना मतदाताले मतदान गरेका थिए ।यस्तै जिल्ला समन्वय समितिको उपप्रमुखमा सत्तागठबन्धनलाई हराउँदै नेकपा (एमाले)का उम्मेदवार केशवबहादुर शाही निर्वाचित हुनुभयाे ।

उहाँले ११ मत प्राप्त गरेर विजयी हुनुभयो । गठबन्धनका तर्फबाट उपप्रमुखको उम्मेदवार बनेकी एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत प्राप्त गर्नुभयो ।महिला सदस्यमा नेकपा एकीकृत समाजवादीका कविता गिरी ११ मत, कोकिला खड्का ११ मत र पूर्णा विक ११ मत ल्याई निर्वाचित हुनुभयो ।

दलित वा जिल्ला समन्वय समितिको तीन जना महिला सदस्यमा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी हुनुभयो ।यस्तै तीन जना सदस्यमा सत्तागठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका अङ्गबहादुर शाही ११ मत र नेकपा माओवादी केन्द्रका फत्तबहादुर डाँगी ११ मतसहित विजयी हुनुभयो ।

सदस्यमै स्वतन्त्र उम्मेदवार दिलबहादुर शाही ११ मतसहित विजयी हुनुभयो । अल्पसङ्ख्यक सदस्यमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी बनेकी माओवादी केन्द्रकी तुल्छा विक ११ मत ल्याएर निर्वाचित हुनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0