कीभ, यूक्रेन । रूसले युक्रेनमाथि आक्रमण गरेको शुक्रबार १०० दिन पूरा भएको छ । यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक आन्तरिक तथा बाह््यरूपमा विस्थापित बनेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क रहेको छ । यो अवधिमा दुवै देशका हजारौं सैनिक मारिएका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा यूक्रेन आक्रमणका लागि आफ्नो फौजलाई आदेश दिएदेखि हजारौं मानिसहरू मारिएका छन् । लाखौं मानिसहरू आफ्नो गाउँ, शहर वा बासस्थान छोडेर भाग्न बाध्य भएका छन् । यूक्रेनी शहरहरू भग्नावशेषमा परिणत भएका छन् ।

एक करोड २० लाख यूक्रेनी विस्थापित हुँदा करिब ६८ लाख मानिसले यूक्रेन छाडेको संयुक्त राष्ट्रसंघले जनाएको छ । जसमध्ये करिब ३६ लाख मानिस पोल्याण्ड पुगेका छन् भने ८० लाख मानिस आन्तरिक रूपमै विस्थापित भएका छन् ।

ठूलो मानवीय संकटमा फसेको यूक्रेनमा हरेक सेकेन्डमा एक बच्चा युद्ध शरणार्थी बनिरहेको बताइएको छ । रूसलाई घेराबन्दी गर्न पश्चिमा देशहरूले पनि लगातार नाकाबन्दी कडा गर्दै लगेको बताएका छन् ।

रूसले प्रत्यक्ष फाइदा नपाएसम्म तत्काल युद्ध रोक्ने लक्षण देखाएको छैन भने यूक्रेन पनि आफ्ना सहयोगी पश्चिमी मुलुकहरूको बलमा रूससमक्ष लडिरहेको छ । आत्मसमर्पण गर्ने कुनै सङ्केत देखाएको छैन । गत फेब्रुअरी २४ मा यूक्रेनमाथि तीन तिरबाट आक्रमण थालेको रूसले युद्धमा विजय नपाए पनि यूक्रेनको जनजीवन भने अस्तव्यस्त बनेको छ ।

सुरूमा पूर्वी यूक्रेनसँगै राजधानी कीभलाई लक्षित गरी आक्रमण गरिएको थियो । केही दिनमै यूक्रेन कब्जा गर्ने रूसको योजना सफल हुन नसकेपछि अहिले पूर्वी यूक्रेनमा आक्रमण केन्द्रित छ । ठूलो संख्यामा सैन्य सामग्री र हातहतियार नष्ट भएको छ ।

शान्त र सुन्दर यूक्रेन खण्डहरमा परिणत भएको छ । यस युद्धमा क्रमशः पूर्वी यूरोप र बाँकी विश्व पनि तानिएको छ । संसारभरकै जनजीवनमा असर पुग्न थालेको छ । यूक्रेनले ३० देखि ५० प्रतिशत कुल गार्हस्थ्य उत्पादन गुमाउँदा बजेट घाटामात्रै ५ अर्ब अमेरिकी डलर पुगेको बताइएको छ । रूसी आक्रमणका कारण यूक्रेनमा ६ खर्ब अमेरिकी डलर बराबरको संरचना ध्वस्त भएको छ । (रासस-सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0