सुर्खेत। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको छ ।

सुर्खेतका विभिन्न पालिकामा आयोजित छुट्टाछुट्टै आमसभामा बोल्दै खड्काले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गर्नुभएको हो । पूर्वगृहमन्त्री समेत रहेका नेता खड्काले कोही कसैलाई पनि गठबन्धनका उम्मेदवारलाई भोट हाल्न आनाकानी नगर्न आग्रह गर्नुभयो ।

खड्काले संविधान मास्नेविरुद्ध अहिले पाँच दलीय गठबन्धन बनेको भन्दै संविधानको रक्षाका लागि गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो ।खड्काले गठबन्धन शान्ति प्रक्रियालाई पूर्णता दिनका लागि रहेको बताउनुभयो ।

“गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचण्डले सुरुआत गरेको शान्ति प्रक्रियालाई पूर्णता दिन आवश्यक छ”, खड्काले भन्नुभयोे, “त्यसैले यो गठबन्धन स्थानीय चुनाव जित्न मात्र होइन शान्ति र विकासका लागि आवश्यक छ ।” उहाँले एमालेका केपी शर्मा ओलीका कारण सुरु गरिएको शान्ति प्रक्रियाले पूर्णता नपाएको भन्दै अब निर्माण हुने गठबन्धनको सरकारले यसलाई पूर्णता दिने बताउनुभयो ।

उहाँले नागरिकका अधिकार रक्षा र प्रेस स्वतन्त्रताका लागि पनि गठबन्धनले जित्न आवश्यक रहेको औँल्याउनुभयो । केपी ओलीले जनताका अधिकार मास्ने उद्देश्यले प्रतिगमनको यात्रा थालेपछि त्यसविरुद्ध कांग्रेस, माओवादीलगायतका दल गठबन्धनमा सङ्गठित भएर सङ्घर्षमा होमिएको कार्यकर्तालाई प्रष्ट पार्नुभयो ।

“ओलीको अहंकार, एमालेको प्रतिगमनकारी, गणतन्त्र विरोधी क्रियाकलापलाई परास्त गरी संविधान बचाउनका लागि गठबन्धन गरेका हौँ”, खड्काले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0