अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शनमा नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन बनेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

जितका लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा सबै विकेट गुमाएर ११८ रनमा समेटियो ।
पीएनजीका लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए।
यस्तै, चाल्स अमिनीले १५ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

पीएनजीलाई सस्तैमा समेट्न नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । यसैगरी करण केसीले ३ तथा कप्तान सन्दीप लामिछानेको नाममा दुई विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै ३८ बलमा ५ चौकाको सहयोगमा ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै,करण केसीले अविजित ३३, ओपनरद्वय आशिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन जोडे । आदिल अन्सारीले १५ रन बनाउँदा रोहित पौडेलले दुई तथा आरिफ शेख र दिलीपनाथ शून्य रनमा आउट भए । पीएनजीका सेमो कामेअले तीन, कवुअ मोरेया, रिले हेकुरे र चाद सोपरले एक एक विकेट लिए ।

नेपाल, पीएनजी र मलेसिया तीनदेशबीच सम्मिलित उक्त सिरिजमा नेपालले अपराजित रहँदै उपाधि जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0