सुर्खेत। अबदेखि कर्णाली प्रदेशसभा खुला संसद्को अभ्यासमा लाग्ने भएको छ । कर्णाली प्रदेशसभाले हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि खुला गर्ने भएको छ । प्रत्येक महिनाको १५ र २९ गते संसद् खुला राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशसभाका सचिव जीवराज बुढाथोकीका अनुसार संसद् खुला हुनुपर्ने मान्यताबमोजिम कर्णाली प्रदेशसभा पनि खुला गर्ने निर्णय गरिएको छ ।

“अबदेखि कर्णाली प्रदेशसभाभित्र के कस्तो छ र बैठक गर्ने ठाउँ कस्तो छ सबै कुरा सर्वसाधारण नागरिकले पनि प्रत्यक्षरूपमा अवलोकन गर्न पाउने भएका छन्”, उहाँले भन्नुभयो, “सभाभित्रका सबै कुराको विषयमा जानकारी दिएर घुमाउने कर्मचारीको समेत व्यवस्था गरिएको छ ।”

संसद् खुला हुनुपर्छ भनिए पनि अहिलेसम्म व्यवहारमा लागू नभएका कारण यहाँका भौतिक संरचना तथा सदन हेर्नका लागि खुला गरिने अभ्यासमा लागेको उहाँले बताउनुभयो । खुला संसद्को अभ्यासमा लागेको सातवटै प्रदेशमध्ये कर्णाली पहिलो हो ।

“संसद्भित्र बैठक हुँदाको दिनमा बैठकको पनि अवलोकन गर्ने र अन्य दिन भए हल तथा त्यहाँ भएका अन्य संरचनाको अवलोकन गर्न पाइनेछ”, उहाँले भन्नुभयो, “संसद् खुला हुनुपर्छ र संसद्भित्रका गतिविधि नागरिकले पनि जान्न पाउनुपर्छ भनेर यो अभ्यासमा लागेका हौँ ।”

बेलायतलगायतका देशमा संसद्को वरिपरि पर्खाल पनि नलाएर नागरिकका लागि खुला राख्ने अभ्यास भएको हुँदा खुलापनको अभ्यास गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0