प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन र यसले पारेका असरका बारेमा सरकारले गम्भीरताका साथ काम गरिरहेको बताउनुभएको छ । उहाँले जलवायु परिवर्तनका विषयमा सरकार, निजी क्षेत्र तथा सरोकार भएका सबै निकायले एक आपसमा मिलेर काम गर्नुपर्ने आवश्यकता समेत औँल्याउनुभयो ।

अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको जलवायु परिवर्तनका मुद्दाका सन्दर्भमा ‘युनिटी फर सस्टेनिबिलिटी’नामक कार्यक्रममा आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफ्नो अडान स्पष्टरूपमा राखेको बताउनुभयो ।

जलवायु परिवर्तन र यसले पारेको प्रभावलाई न्यून गर्न सञ्चारमाध्यमले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भन्दै उहाँले सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो । वातावरण संरक्षण र जलवायु परिवर्तनका सन्दर्भमा जनचेतना जगाउन सञ्चारमाध्यमले विशेष भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले सरकारले पनि अल्पकालीन र दीर्घकालीन योजनाका साथ जलवायु परिवर्तनको मुद्दामा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रले पनि यस्ता मुद्दामा हातेमालो गर्न जरुरी रहेको भन्दै सहकार्यका लागि आह्वान गर्नुभयो ।

सरकारले जलवायुमैत्री नीति तय गरेर काम गरिरहेको तथा अन्तर्राष्ट्रिय जलवायु सम्मेलनका क्रममा समेत स्पष्टरूपमा आफ्ना एजेण्डा प्रस्तुत गरेको प्रधानमन्त्रीको भनाइ थियो ।

उहाँले सरकारले शून्य कार्बनको नीतिका साथै वन जङ्गल फँडानीसमेतलाई शून्यमा झार्न लागिपरेको उल्लेख गर्नुभयो । कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको भिडियो सन्देशसमेत प्रस्तुत गरिएको थियो । यस्तै जलवायु एवं वातावरणको क्षेत्रमा काम गरिरहेका विभिन्न संस्था एवं व्यक्तिसमेतको सन्देश प्रस्तुत गरिएको थियो ।

अन्नपूर्ण मिडिया नेटवर्र्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जलवायु परिवर्तका मुद्दालाई प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गर्दै सञ्चारमाध्यमका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । जलवायु परिवर्तनका मुद्दामा सरकारसँग सहकार्य गरेर अघि बढ्नेसमेत उहाँको भनाइ थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0