सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्वाचन अवधिभर साँझ ८ बजेदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनले राजनीतिक दलसहितको सर्वपक्षीय छलफलपछि मदिरामा कडाइ गर्ने निर्णय गरेको हो ।
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको राकमस्थित रिमझिम चोकमा विहीबार राति झडप भएपछि जिल्ला प्रशासनले आज दलहरुलाई छलफलका लागि बोलाएको थियो ।
छलफलमा सुरक्षा निकायका प्रमुखका साथै जिल्लास्थित सबै दलका प्रमुख÷प्रतिनिधिहरुको उपस्थिति रहेको प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले निर्वाचन प्रचार–प्रसारका बेला मदिराजन्य पदार्थ सेवन गरी दलका कार्यकर्ताद्वारा हिंसात्मक क्रियाकलाप हुन सक्ने भएकाले प्रशासनले यस्तो निर्णय गरेको जानकारी दिनुभयो ।
सर्वपक्षीय बैठकले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन, निषेधित समयमा मदिराको कारोबार तथा सेवन नगर्न जिल्लाबासीमा अपिल गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1