काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास गर्ने अवस्थामा नरहेको बताउनुभएको छ ।
प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले देश र जनताको हितभन्दा आफ्नो पार्टीबाहिर नजाने बताउनुभएको हो ।
“हामी संसद्को प्रक्रियामा सहभागी हुन पाएका छैनौँ”, उहाँले भन्नुभयो, “संसद् सहभागी हुन नपाएपछि हामीले राय कहाँ व्यक्त गर्ने । संसद्मा नै हामीले सहभागी नगराएपछि एमसिसी पास गर्ने कसरी र फेल गराउने कसरी ?” अध्यक्ष ओलीले एमालेले राष्ट्रिय र जनताको हित तथा अन्तर्राष्ट्रिय सम्बन्ध हेरेर जे गर्दा राष्ट्रका लागि उचित हुन्छ, त्यही मात्र गर्ने बताउनुभयो ।
उहाँले नेपाल न्यायको भूमि भएपनि न्याय मरेको बताउँदै सर्वोच्च अदालतले अन्तिम फैसला गर्ने निकाय भएको तर त्यसले व्याख्या गर्ने नाममा संविधानबमोजिम नगरेको उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले सर्वोच्च अदालतले स्वच्छेचारी निर्णय गर्दै जाँदा न्यायपालिकामा विकृति आउनेसमेत बताउनुभयो । “सर्वोच्च अदालत विकृत भयो भने देश, समाज के हुन्छ ।
हाम्रो विधि कहाँ पुग्छ ?”, उहाँले प्रश्न गर्नुभयो । उहाँले एमाले नेपालको न्याय क्षेत्र स्वच्छ, पवित्र र निष्पक्ष ढङ्गले संविधानबमोजिम हुनुपर्ने मान्यता राखेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1