बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई  उच्च अदालत पाटनले रु २० लाख धरौटी बुझाएर थुनामुक्त गर्ने आदेश गरेको छ ।

बिहीवार न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजालशले  धरौटीमा थुनामुक्त गर्न आदेश गरेको हो ।
जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको सुनुवाइमा अदालतले धरौटीमा लिएर थुनामुक्त गर्न भनेको छ । पाटन अदालत अदालतका रजिष्टार ठगिन्द्र कट्टेलका अनुसार लामिछानेले जिल्ला प्रहरी कार्यालय काठमाडौँको अनुमति लिएर मात्र उपत्यका छाड्नुपर्नेलगायतको निश्चित आचरणमा बस्नुपर्ने अदालतको आदेशमा छ । भोलि बिहानबाट धरौटी बुझाएर थुनामुक्त हुने प्रक्रिया प्रारम्भ हुनेछ । गत कात्तिक १६ गते जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिका नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ गते काठमाडौँ अदालतमा मुद्दा दायर गरिएको थियो । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो । लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आएका छन् । प्रहरीले गत असोज २० गते लामिछानेलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0