कोलम्बो । इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ । पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता बन्द गर्ने घोषणा गरिएको हो ।
शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।
विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।
देशका ऊर्जा मन्त्रीले आइतबार एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको बताउनु भएको थियो । देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सरकारले इन्धन आयात गर्न नसकेकाले सार्वजनिक यातायात ठप्प जस्तै भएको छ ।
श्रीलङ्काका अधिकांश पेट्रोल पम्पहरू धेरै दिनदेखि गन्धविहीन रहँदा पेट्रोल र डिजेलको खोजीमा राजधानीका धेरै स्थानमा सर्वसाधारणको लाइन निकै लामो देखिने गरेको छ । गत हप्ता, नगद अभावको कारण श्रीलङ्काले पेट्रोल र डिजल बचत गर्न आवश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई हप्ता रोक्ने घोषणा गरेको थियो ।
सोमबार बैंक तथा कार्यालयहरू पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित देशभरका अधिकांश पेट्रोल पम्पहरू आइतबारदेखि बन्द भएका छन् । निराश मानिसहरूले केही गाडीहरूसँग लिफ्ट माग्दै आफ्नो गन्तव्यमा पुग्न खोजेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल बन्ने गरेका छन् ।
देशको दुई तिहाइभन्दा बढी व्यक्तिलाई यातायात सेवा दिइरहेका निजी स्वामित्वमा रहेको बसले इन्धन अभावका कारण नराम्ररी प्रभावित भएकाले आइतबारदेखि अत्यन्त नै न्यून रूपमा सेवा सञ्चालन गरेको बताए ।
निजी बस सञ्चालक सङ्गठनका अध्यक्ष गेमुनु विजेराट्नेले भन्नुभयो, “हामीले हाम्रा सदस्यहरूको स्वामित्वमा रहेको कूल २० हजार बसमध्ये देशभरि करिब एक हजार बसहरू सञ्चालन गरिरहेका थियौँ । भोलिको अवस्था पक्कै झनै बिग्रनेछ देखिएको छ, हामीसँग डिजेल पाउने कुनै उपाय छैन ।” तत्काल कुनै समाधान नआउने देखिएकोले सोमबारदेखि सेवा थप खुम्चिँदै गएको उहाँले बताउनुभयो ।
विदेशी मुद्राको अभावले मुलुकको सबैभन्दा खराब आर्थिक सङ्कट ब्यहोरिरहेको यस मुलुकमा अति आवश्यक सामग्रीको आयातलाई समेत धान्न नसकेपछि दुई करोड २० लाख जनताले गम्भीर कठिनाइ भोग्दै आएका छन् ।
देशले गत वर्षको अन्त्यदेखि रेकर्ड गरिएको उच्च मुद्रास्फीति र लामो विद्युत् ब्लाकआउटको पनि सामना गरिरहेको छ। रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0